मनोरंजन

आमाको खुसीको लागि आमालाई नै मुद्दा हाले : हास्यकलाकार मदनकृष्ण श्रेष्ठ

आमा भगवानको अर्को रुप हुन् भन्ने लाग्छ मलाई । तर, मैले आमाबाटै आमाको माया अनुभव गर्न पाइनँ । म ६ महिनाको हुँदा मेरी आमा बित्नुभएको हो रे । सम्झनामा सचित्र त आमा हुनुहुन्न तर भावनामा हुनुहुन्छ । उति बेला फोटो त्यति प्रचलनमा आइसकेको थिएन, ब्ल्याक एन्ड ह्वाइटको जमाना थियो । धेरैपछि हो मैले मेरी आमालाई तस्बिरमा हेरेको । मामाको घरमा जाँदा यी तिम्री आमा भनेर मलाई तस्बिर देखाइएको थियो । ए, यस्ती पो हुनुहुँदो रहेछ मेरी आमा भनेर धेरैबेर तस्बिर हेरेको याद छ ।

मेरी आमा बितेको केही पछि बुवाले अर्को बिहे गर्नुभयो । दोस्रो आमालाई म राम्रैसँग सम्झन्छु । उहाँले मलाई माया गर्नुहुन्थ्यो । उहाँको माइती न्युरोडमा हो, मलाई पनि लैजानुहुन्थ्यो । त्यहाँ सबैले मलाई माया गर्नुहुन्थ्यो ।

दोस्री आमा पनि दुईटा बच्चा जन्मेपछि बित्नुभयो । पछि दुइटा बच्चा पनि बिते । त्यसपछि बुवाले तेस्री आमा बिहे गर्नुभयो, लगनटोलबाट । तेस्री आमालाई मैले राम्रैसँग सम्झन्छु । उहाँले मलाई माया गर्नुहुन्थ्यो । जहाँ जाँदा पनि सँगै लैजानुहुन्थ्यो । तर, तेस्री आमा पनि बित्नुभयो । उहाँले एउटा छोरा जन्माउनुभएको थियो, ऊ पनि खस्यो ।

त्यसपछि बुवाले अहिलेकी आमा ल्याउनुभयो, रामेछाप भंगेरीबाट । जति बेला म आठ वर्षको थिएँ । आमा मभन्दा मात्रै नौ वर्ष जेठी हुनुहुन्छ । अहिले ७४ लाग्नुभयो ।

अहिलेकी आमाले सानोमा मेरो ख्याल गर्नुभयो, माया देखाउनुभयो । म स्पष्ट बुझ्थें– मेरो नजरमा उहाँलाई सानिमा बन्नु थिएन ।

आफ्नी आमा र त्यसपछिका दुइटी आमा गुमाउँदासम्म मलाई मेरा फूपूहरूले हुर्काउनुभएको हो । खासगरी सानो हुँदा नै आमाको माया चाहिन्छ, चाहिने मात्रै होइन पाइन्छ पनि । तर, त्यस्तो सौभाग्य मलाई प्राप्त भएन । जन्म दिने आमा गुमाएपछिका आमाहरूले पनि मलाई माया नगर्ने त होइन । तर, उहाँहरू पनि लामो समय रहनुभएन ।

सानोमा मनमा लाग्ने र सम्झना हुने गरी फूपहरूबाटै हो मैले माया पाएको । फूपूहरुको मायामा कुनै कमी थिएन । फूपूहरू भगवानजस्तै लाग्छ मलाई । फूपूहरूले खाना खुवाएको, चुठाएको, नुहाइदिएको, लुगा फेरिदिएको सम्झना छ ।

मेरा तीन फूपूमध्ये दुईजना बितिसक्नुभयो । कान्छी फूपू हुनुहुन्छ, उहाँलाई मैले नानीफूपू भन्छु । उहाँलाई सबैले घरमा ‘नानी’ भनेर बोलाउँथे । माइली फूपूलाई हजुरफूपू र ठूलीलाई ठूलीफूपू भन्थें ।
फूपूहरूका छोराछोरीसँग अहिले दाजुभाइ, दिदीबहिनीको सम्बन्ध छ । नानीफूपू अहिले अमेरिका हुनुहुन्छ, अमेरिका जाँदा उहाँहरूकैमा बस्छु

पछिल्ली आमा जो अहिले हुनुहुन्छ, उहाँलाई आमा भन्छु । मेरो शब्दकोषमा सानिमा भन्ने शब्द छैन । यतिसम्म कि नाटक, टेलिफिल्म, चलचित्र, प्रहसन, रेडियो कार्यक्रम केहीमा पनि मैले ‘सानीआमा’ उच्चारण गर्नुपर्नेछ भने त्यो मलाई स्वीकार्य हुँदैन । ‘सानीआमा’ उच्चारण गर्नुपर्ने कुनै भूमिका छ भने पनि त्यसमा खेल्दिनँ । किन–किन मलाई आमा नै भन्नुपर्छ ।

म जन्मेर हुर्केको जितुफेदीमा हो । उतिबेला बालाजुबाट एक घन्टा हिँडेर जानुपथ्र्यो । हाम्रो फेदी र काठमाडौंमा जग्गा थियो, छ ।

हाम्रो परिवार काठमाडौं नरदेवीमा भाडामा पनि बस्यो । मेरो बुवा प्रधानपञ्च हुनुहुन्थ्यो । राजनीति होइन, समाजसेवा गर्नुहुन्थ्यो बुवाले । बुवा प्रधानपञ्च भएकाले घरमा थुप्रै मान्छे आउँथे, अनेक काम लिएर । बुवा सधैँ अर्काको काम गरिदिन व्यस्त हुनुहुन्थ्यो । बुवाको कुनै कमाइ थिएन । जग्गा पनि हजुरबाले जोड्नुभएको हो । बुवा ०३२ सालमा बित्नुभयो ।

मेरी अहिलेकी आमातिर दुइटी बहिनी र एक भाइ छ । हाम्रो काठमाडौं सोल्टीमोडमा पुख्र्यौली जग्गा थियो । त्यहाँको जग्गा बेचेर पैसा तीन भाग लगायौं– आमा, भाइ र मलाई । मैले नख्खीपोटमा जग्गा किनेँ । ०३८ सालतिर मैले घर बनाएपछि हाम्रो भान्सा अलग भयो ।

आमा र भाइका लागि नयाँबजार खुसिपुमा घर बनायौँ । घर नबनाउँदासम्म पैसा भाइको नाममा बैंकमा राख्यौँ । तर, चेकबुक मैले राखेको थिएँ, उनीहरूले खर्च गर्लान्, घर नबनाउलान् भनेर । घर बनाउन चाहिने खर्च निकाल्न मात्रै मैले चेकबुक दिन्थेँ ।

हाम्रो सबै जग्गा भाइ, म र आमाको नाममा छ । कित्ताकाट गरेका छौँ, छुट्याएका छैनौं, अझै सगोलमै छ ।

पछि भाइ र आमाले ३६ प्रतिशत ऋण लिएछन्, केही कारोबार गर्न भनेर । तर, घरै खाइदिने स्थिति आएछ । लालपुर्जा पनि ऋण दिनेले लगेछ । जग्गा हामी तीनैजनाको नाममा भएकाले आमाले मलाई भन्नुभयो, ‘बाबु, मेराविरुद्ध मुद्दा हाल । आमा र भाइले मलाई नसोधी घर बेचे भनेर हकदाबी गर, घर त जोगाउनुपर्यो ।’

आमाविरुद्ध के मुद्दा हाल्ने भनेर वास्तै नगरी फर्कें । अब ऋण लिएकै हो, तिर्नैपर्छ । भाइ र आमालाई एउटा घर कतै खोजौँला, बनाउँला भन्ने सोचेको थिएँ । भोलिपल्ट त आमालाई हर्टअट्याक भयो । आमाको अप्रेसन भयो, आइसियुमा राखिएको थियो । एक दिन हस्पिटलमा गएर भनेँ, ‘आमा, मैले हजुरको विरुद्धमा मुद्दा हालेँ ।’ आमा पनि खुसी हुनुभयो ।

मुद्दा मैले जितेँ । घर त गइहाल्यो, तर मेरो भागको पैसा आयो । त्यसैले आमा र भाइका लागि एउटा राम्रै घर किन्यौँ । अझैसम्म हाम्रो सम्बन्ध यस्तै सौहार्द छ ।
[रातोपाटीबाट लिएको सम्पादित अंश]

Related Articles

Back to top button
Close